भीमफेदी दुर्घटनाका १३ जनाको शव गाउँ पुग्यो, आज राति सामूहिक अन्त्येष्टि गरिँदै

पढ्न लाग्ने समय : 2 मिनेट

सर्लाही, २७ कात्तिक। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव शुक्रबार साँझ गाउँ पुर्‍याइएको छ।

एउटै गाउँका १३ जनाको एकै दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुर शोकमा डुबेको छ। मृतक सबैको शुक्रबार राति लखन्देही नदी किनारमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिने तयारी गरिएको छ।
बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ आफन्तले बुझेका हुन्। उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडानमा रहेका मृतकका आफन्तले सरकारद्वारा गठित दुर्घटना छानबिन समिति र पीडित परिवारबीच सहमति भएपछि शव बुझेका हुन्।

पीडित परिवारले प्रत्येक मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका थिए।

सहमतिअनुसार कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्नेछ। थप राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक आग्रह गर्ने सहमति भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए।

चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार मृतक १३ जनाको गाउँको पश्चिमतर्फ रहेको लखन्देही नदी किनारमा सामूहिक अन्त्येष्टि गरिनेछ।

दुर्घटनामा सुन्दरपुरका १३ जनासहित हायस चालक रवीशंकरकुमार मण्डलको पनि मृत्यु भएको थियो। चालक मण्डल सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वाका निवासी थिए। उनको शव परिवारले बिहीबार नै बुझिसकेको थियो। दुर्घटनामा अन्य ६ जना घाइते भएका थिए। उनीहरूको उपचार भइरहेको छ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही घर फर्किने क्रममा बिहीबार बिहान करिब पौने ६ बजे मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हायस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खोल्सामा खसेको थियो।

एउटै गाउँका १३ जनाको मृत्यु भएपछि चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको थियो। गाउँपालिकाले मृतक परिवारलाई जनही ५० हजार रुपैयाँ र मधेश प्रदेश सरकारले प्रत्येक मृतक परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्।
छठ पर्व मनाउन घर फर्किरहेका आफन्त र साथीभाइ एकै दुर्घटनामा गुमाएपछि सुन्दरपुर गाउँका परिवारहरू गहिरो शोकमा छन्।

Leave a Comment