काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका शीर्ष नेताहरूले विकास, सुशासन र पार्टी एकतालाई मुख्य मुद्दा बनाउँदै आगामी यात्राको स्पष्ट संकेत दिएका छन्।
चितवनको भरतपुरमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले सरकारको गति रोक्नुपर्ने अवस्था नरहेको दाबी गर्दै सरकार निर्धारित लक्ष्यतर्फ अघि बढिरहेको बताएका छन्।
उनले सरकारको यात्रालाई तीव्र गतिमा अघि बढेको गाडीसँग तुलना गर्दै गन्तव्यमा पुगेपछि मात्रै रोक्ने बताए। “हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ,” शाहले भने।
शाहले सरकार अनियन्त्रित नभएको उल्लेख गर्दै सुशासन र विकास निर्माण आफ्नो मुख्य प्राथमिकता रहेको बताए। उनले राज्य सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार र अनियमितताविरुद्ध कडा कदम चालिने पनि स्पष्ट पारे।
उनले रास्वपाको राजनीतिक धारणा परम्परागत ‘लेफ्ट–राइट’ बहसभन्दा फरक रहेको उल्लेख गर्दै पार्टीको मुख्य विचारधारा विकासवाद भएको बताए। “हाम्रो पार्टी विकासवादी हो, लेफ्ट राइटको बहसमा अल्झिनु पर्दैन,” शाहको भनाइ थियो।
यस्तै, रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति नरहने दाबी गरे।
लामिछानेले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आए पनि पार्टीको नेतृत्व बालेन्द्र शाहलाई नै अघि सार्ने संकेत गर्दै पार्टीको लक्ष्य व्यक्ति नभई अभियान र परिवर्तन भएको बताए।
“हामीले बल बालेनजीको खुट्टामा पुर्याइसकेका छौँ, अब गोल गर्नुपर्ने छ,” उनले भने, “कुनै कारणले बल मेरो खुट्टामा आयो भने पनि बालेनजीकै खुट्टामा पास दिने जिम्मेवारी मेरो हो।”
उनले विगतका राजनीतिक दलहरूको अनुभवबाट सिकेर रास्वपाले आन्तरिक एकता कायम राख्नुपर्ने बताए। त्याग र बलिदानको मूल्य सबैले समान रूपमा बुझ्नुपर्ने भन्दै उनले आफूले त्याग गर्दा कठिन र अरूले गर्दा सहज ठान्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गरे।
महाधिवेशनले पार्टीलाई थप मजबुत, एकताबद्ध र स्पष्ट दिशासहित अघि बढाउने विश्वास व्यक्त गर्दै रास्वपा नेतृत्वले विकास, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राख्ने सन्देश दिएको छ।
रास्वपा महाधिवेशनमा बालेन र रविको एउटै सन्देश : विकास, सुशासन र एकताको बाटोमा अघि बढ्ने प्रतिबद्धता
Leave a Comment
Leave a Comment






