कार्यक्रमस्थलबाटै चुपचाप पक्राउ परे पौडेल, ओलीले भने– ‘अपहरण शैलीमा गिरफ्तारी’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

८ असार, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतको वीरेन्द्रनगरमा जारी पार्टीको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रमस्थलबाट प्रहरीले पक्राउ गरेको छ । पौडेलको गिरफ्तारीबारे कार्यक्रमस्थलमा रहेका अधिकांश नेता–कार्यकर्ताले भने पछि मात्रै थाहा पाए ।
वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल सहभागी थिए । सोमबार साँझ करिब ५ बजे पौडेलको मोबाइलमा फोन आएपछि उनी हलबाट बाहिर निस्किएका थिए ।
बाहिर जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलसहितको टोलीसँग पौडेलले केहीबेर कुराकानी गरे । सुरुमा एमाले नेताहरूले त्यसलाई सामान्य भेटघाट ठानेका थिए ।
त्यसपछि पौडेल हलभित्र फर्किएर महासचिव शंकर पोखरेलसँग केहीबेर छलफल गरे । उनले टेबलमा रहेको डायरी लिएर पोखरेलसँगै बाहिर निस्किए । बाहिर उनीहरूबीच केहीबेर एक्लाएक्लै कुराकानी भएपछि पोखरेल हलतिर फर्किए भने पौडेल होटलको कोठामा गएर झोला लिएर आए ।
त्यसपछि पौडेल प्रहरीको भ्यानमा बसेर त्यहाँबाट गए । कार्यक्रम चलिरहेकै बेला भएको यो घटनाबारे हलमा रहेका धेरै नेताहरूले तत्काल जानकारी पाएनन् । एमाले कर्णाली प्रदेशकी सह–सचिव पद्मा खड्काले पनि आफूहरूले पछि समाचार पढेर मात्र पौडेल पक्राउ परेको थाहा पाएको बताइन् ।
प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई पक्राउ गर्न सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो । पत्र पाएपछि प्रहरी र गुप्तचर टोली होटल पुगेको थियो भने एसपी पोखरेलको नेतृत्वमा १० जनाको टोली पक्राउका लागि खटिएको थियो ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउको विरोध गरेका छन् । सोमबार साँझ जारी गरेको वक्तव्यमा ओलीले पौडेललाई सरकारले “गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको” आरोप लगाएका छन् ।
ओलीले वर्तमान सरकारले विपक्षी दलहरूमाथि अराजनीतिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै पौडेलको गिरफ्तारी त्यसकै निरन्तरता भएको दाबी गरेका छन् ।
एमालेले आफू कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै पौडेल पक्राउको घोर निन्दा र भर्त्सना गरेको छ ।

Leave a Comment