पानी अभावले धान रोपाइँ प्रभावित, राष्ट्रिय धान दिवसमा पनि किसान चिन्तित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ। सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेको २३ वर्ष पुगेको छ। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित दिवस मनाइँदै छ।
तर धान दिवसकै दिन किसान भने पर्याप्त वर्षा नहुँदा समस्यामा परेका छन्। आधा असार बित्न लाग्दा पनि देशभर धान रोपाइँ अपेक्षाअनुसार हुन सकेको छैन।
कृषि विभागका अनुसार असारसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा १५.६ प्रतिशत रोपाइँ भइसकेको थियो। यस वर्ष धान रोपाइँ हुने कुल १३ लाख ९१ हजार ४८८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख ५६ हजार ५८३ हेक्टरमा मात्रै रोपाइँ भएको छ।
प्रदेशगत रूपमा कर्णालीमा सबैभन्दा धेरै २२.८ प्रतिशत रोपाइँ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम ५ प्रतिशत मात्रै रोपाइँ भएको छ। मधेशमा पानीको अभावका कारण किसानले खेत तयार गरे पनि रोपाइँ गर्न पाएका छैनन्।
कृषि अधिकारीहरूका अनुसार पहाडी क्षेत्रमा रोपाइँ केही छिटो हुने भए पनि तराई क्षेत्रमा पर्याप्त पानी नपरेसम्म रोपाइँ ढिला हुने गर्छ।
यता नेपालले अझै पनि धानचामलमा ठूलो रकम विदेश पठाउनुपर्ने अवस्था छ। चालु आर्थिक वर्षको ११ महिनामा मात्रै करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ।
नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादनले माग धान्न नसक्दा करिब १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ।
बर्दियालगायत तराईका जिल्लामा पानी नपर्दा रोपिएका धानका खेतसमेत चिरा पर्न थालेका छन्। किसानले आकाशे पानीको प्रतीक्षा गरिरहेका छन्।

Leave a Comment