काठमाडौँ, १८ असोज २०८३ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आफू र सरकारप्रति भएको आलोचनालाई लिएर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।
आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले कांग्रेसको महाधिवेशन आयोजना गरिएको काठमाडौँको खुलामञ्चको अवस्थालाई जोड्दै नेताहरूको भाषणप्रति कटाक्ष गरेका हुन्।
शाहले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा पार्टीका शीर्ष नेतासहित विपक्षी दलका नेताहरूले सरकारको कार्यशैली, निर्णय प्रक्रिया तथा प्रधानमन्त्री शाहको भूमिकामाथि प्रश्न उठाएका थिए।
त्यसको जवाफमा प्रधानमन्त्री शाहले आफू महानगरपालिकाको प्रमुख रहेका बेला खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएका कामको स्मरण गर्दै राजनीतिक कार्यक्रमका लागि मञ्च उपलब्ध भएको विषयलाई व्यङ्ग्यको शैलीमा प्रस्तुत गरेका हुन्।
लामो समयसम्म बन्द तथा अव्यवस्थित अवस्थामा रहेको खुलामञ्चलाई पुनः व्यवस्थित गर्ने क्रममा सरसफाइ, जमिन सम्याउने र हरियाली विकासलगायतका काम अघि बढाइएको थियो।
प्रधानमन्त्री शाहले कांग्रेसलाई नै ‘नयाँ पार्टी’ भनेर उल्लेख गरेपछि उनको अभिव्यक्ति थप चर्चामा आएको छ। सामाजिक सञ्जालमा उनको टिप्पणीलाई लिएर समर्थन र आलोचना दुवै प्रतिक्रिया देखिएका छन्।

