काठमाडौं, असोज १९ । रुसले युक्रेनको राजधानी किभमा लगातार चौथो दिन हवाई आक्रमण गरेको छ।
पछिल्लो पटक गरिएको ड्रोन हमलामा शहरका रणनीतिक महत्वका पुललाई लक्षित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
आइतबार बिहान उत्तरी किभस्थित पिभ्निच्नी पुलमा रुसी ड्रोनबाट आक्रमण भएको हो। उक्त पुलमा लगातार दोस्रो दिन हमला भएको बताइएको छ। आक्रमणका क्रममा दुई जना घाइते भएका छन्।
यसअघि दक्षिणी क्षेत्रमा रहेको पिभ्डेनी पुल पनि रुसी सेनाको निशानामा परेको थियो। गत सातादेखि यी दुवै पुलमा पटक–पटक आक्रमण हुँदै आएको युक्रेनी पक्षले जनाएको छ।
रुसले ती पुलहरूलाई युक्रेनी सेनाको आवागमन तथा आपूर्ति व्यवस्थाका लागि महत्वपूर्ण संरचना भन्दै लक्षित गरेको जनाएको छ। युक्रेनी पक्षका अनुसार ती दुई पुलबाट दैनिक करिब पाँच लाख सवारीसाधन आवतजावत गर्ने गर्छन्।
युक्रेनी वायुसेनाका अनुसार शनिबार राति रुसले देशभर १३५ वटा ड्रोन प्रहार गरेको थियो। तीमध्ये ५२ वटा जेट इन्जिनयुक्त ड्रोन रहेको बताइएको छ। युक्रेनले १२५ वटा ड्रोनसहित अन्य हवाई आक्रमणलाई समेत निष्क्रिय पारिएको दाबी गरेको छ।
यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मर्जले युक्रेनप्रति समर्थन जनाउँदै किभको अप्रत्याशित भ्रमण गरेको केही समयपछि रुसी आक्रमण थप तीव्र भएको हो। रुसी सेनाले किभसहित युक्रेनका विभिन्न क्षेत्रमा सैन्य कारबाही अझ बढाउने संकेत गरेको छ।
रुसी रक्षा मन्त्रालयले युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूमा आक्रमण बढाउने घोषणा गरेपछि त्यसको जवाफस्वरूप युक्रेनमाथिको हमला तीव्र पारिएको जनाएको छ।

