कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, सभापति थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। काठमाडौंको खुलामञ्चस्थित महाधिवेशन उद्घाटन स्थलमै सोमबार बन्दसत्र सुरु गरिएको हो।

बन्दसत्रमा सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा आगामी चार वर्षका लागि पार्टीको राजनीतिक कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण समेटिएको कांग्रेसले जनाएको छ।

बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन छुट्टाछुट्टै समूहमा विभाजन गरिएको छ। हिमाल हलमा कोसी, कर्णाली र गण्डकी प्रदेशका गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। पहाड हलमा बागमती र लुम्बिनी प्रदेशका २ हजार २२६ प्रतिनिधि छन्। त्यस्तै, तराई–मधेस हलमा मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसम्पर्क समिति र भ्रातृ संगठनका गरी २ हजार ३७६ प्रतिनिधि सहभागी छन्।
बन्दसत्रमा सभापति थापाको राजनीतिक प्रतिवेदनसँगै महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक विषयसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाको राजनीतिक प्रस्तावमा लोकतान्त्रिक संस्थालाई सबल बनाउने विषयलाई प्राथमिकता दिइएको छ। कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आगामी कार्यदिशाको आधार बनाइएको उनले बताए।
कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारेको छ। नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा पनि प्रस्तावमा समेटिएको छ। यसबाट सक्षम नेतृत्व निर्माण र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ।
महामन्त्री पौडेलले प्रस्तुत गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्तावमा पार्टीको निर्णय प्रक्रिया, विभिन्न तहका जिम्मेवारी र संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने विषय समेटिएको छ। प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ।
तर, प्रस्तावित संरचना अन्तिम भने नभएको प्रवक्ता चालिसेले स्पष्ट पारेका छन्। बन्दसत्रमा प्रतिनिधिहरूबीच छलफल भई प्रस्ताव पारित भएपछि मात्रै त्यसले अन्तिम रूप पाउनेछ।
आइतबार उद्घाटन भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया पनि सुरु हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने कांग्रेसले जनाएको छ।

Leave a Comment