काठमाडौं, असोज १९- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बन्दसत्रमा पार्टीका महत्वपूर्ण राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ।
बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। त्यस्तै महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नेछन्।
बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि आज खुलामञ्चमै बस्ने भएको छ।
यसैबीच, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढेको छ। निर्वाचन समितिका अनुसार आज साँझ ५ बजे मतदाता नामावली सार्वजनिक गरिनेछ। त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म नामावलीमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ।
दाबी–विरोधमाथि साँझ साढे ६ देखि साढे ७ बजेसम्म छानबिन गरिनेछ भने राति साढे ८ बजे मतदाताको अन्तिम नामावली सार्वजनिक हुनेछ।
असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ। सोही दिन अपराह्न साढे ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। त्यसपछि उम्मेदवारीमाथि दाबी–विरोध र छानबिनको प्रक्रिया पूरा गरी साँझ ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारीमा आवश्यक संशोधन गर्न सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ।
मतदानका लागि काठमाडौंमा तीन स्थान तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।
खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ।
त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

