कांग्रेसको संशोधित विधान पारित, २९७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्ने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 4 मिनेट

काठमाडौं, असोज १९-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार बसेको बन्दसत्रले पार्टीको संशोधित विधान पारित गरेको छ। महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित भएसँगै अब कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको छ।

संशोधित विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन्। चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला तथा तीन महामन्त्रीमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।
कोषाध्यक्ष केन्द्रीय सदस्यबाट एक जना चयन हुनेछन् भने प्रवक्ता र सहप्रवक्ताको व्यवस्था पनि गरिएको छ। प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र केही सहमहामन्त्री सभापतिबाट मनोनयन हुने व्यवस्था विधानमा गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ र खुला महिलाबाट १५ जना निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना, उपत्यकाबाट एक महिलासहित दुई जना निर्वाचित हुने व्यवस्था छ।
त्यस्तै दलिततर्फ १४, आदिवासी जनजातितर्फ २०, खसआर्यतर्फ १८, मधेसीतर्फ १३, थारूतर्फ ६, जनसम्पर्क समितिबाट सात, पिछडिएको वर्गबाट तीन, श्रमिकबाट तीन र पेसागत विज्ञबाट सात जना केन्द्रीय सदस्य रहनेछन्। सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका समुदायबाट एक तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
विधानअनुसार केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनयन गर्नेछ।
विधान संशोधनसँगै कांग्रेसमा पदाधिकारीको संख्या बढेपछि उम्मेदवारको दाबी पनि बढेको छ। सभापतिमा वर्तमान सभापति गगन थापालाई निर्विरोध दोहोर्‍याउने प्रयास भइरहेका बेला पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
वरिष्ठ उपसभापतिमा उपसभापति विश्वप्रकाश शर्मा निर्विरोध हुने सम्भावना देखिएको छ। अहिलेसम्म उक्त पदमा अन्य नेताले उम्मेदवारी घोषणा गरेका छैनन्।
चार उपसभापतिका लागि भने आकांक्षीको संख्या बढेको छ। महिलातर्फ पुष्पा भुसालको दाबी देखिएको छ। खुलातर्फ चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, दीपक गिरी र गोविन्द भट्टराईले आकांक्षा देखाएका छन्। समावेशीतर्फ धनराज गुरुङ, जीवन परियार, भीष्मराज आङ्देम्बे र विनोद चौधरीले दाबी प्रस्तुत गरेका छन्। नेता मिनेन्द्र रिजालले भने उम्मेदवारीबारे निर्णय गरिनसकेको बताएका छन्।
महामन्त्रीका लागि पनि कांग्रेसभित्र प्रतिस्पर्धा तीव्र देखिएको छ। महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेले पुनः सोही पदमा दोहोरिन चाहेका छन्। पौडेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने नैनसिंह महर, मधु आचार्य, देवराज चालिसे, अमरसिंह पुन, सुनिल शर्मा, रञ्जित कर्ण, आङ्गेलु शेर्पा, सन्तोष उपाध्याय र शंकर तिवारीले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। सहमहामन्त्री उदयशमशेर राणाले समेत महामन्त्रीमा आकांक्षा राखेका छन्।
महिला महामन्त्रीका लागि पूर्वसहमहामन्त्री डिना उपाध्याय र सहमहामन्त्री डिला संग्रौला पन्तले दाबी गरेका छन्। नयाँ विधानले महिला महामन्त्रीको व्यवस्था गरेपछि उनीहरू प्रतिस्पर्धामा आएका हुन्।
सहमहामन्त्रीको संख्या १५ पुर्‍याइएको छ। त्यसमध्ये ११ जना निर्वाचनबाट र चार जना सभापतिबाट मनोनयन हुने व्यवस्था गरिएको छ। खुलातर्फ दुई तथा खसआर्य, महिला, आदिवासी जनजाति, मधेसी, थारू, दलित, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यकतर्फ एक–एक जना निर्वाचित हुनेछन्।
सहमहामन्त्रीमा अधिकांश वर्तमान पदाधिकारी नै दोहोरिने तयारीमा छन्। योगेन्द्र चौधरी, फरमुल्लाह मन्सुर, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, प्रकाश रसाइली ‘स्नेही’ र मुक्ताकुमारी यादवले पुनः सहमहामन्त्रीमा दाबी गरेका छन्।
यसैगरी विभिन्न समूह र समावेशी कोटाबाट रामहरि खतिवडा, राजीव ढुंगाना, अजयबाबु शिवाकोटी, विकास कोइराला, भरत खड्का, प्रतिमा गौतम, ईश्वरी न्यौपाने, सीता गुरुङ, रीता खनाल, तेजुलाल चौधरी, अब्दुल सत्तार, जीवन शाही, मिन भाम, जनकराज गिरी, रामबहादुर विष्ट, महेन्द्र यादव, अभिषेकप्रताप शाह, मनीष मिश्र, अमरबहादुर घर्तीमगर, बर्मा लामा, प्रदीप सुनुवार र योगेन्द्र गौचन थकालीलगायत नेताहरूले पनि दाबी प्रस्तुत गरेका छन्।
विधान संशोधनका कारण थपिएका पदमा समेत उम्मेदवारीका आकांक्षी बढ्ने कांग्रेस नेताहरूको आकलन छ। सोमबार बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनभन्दा पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या र निर्वाचनसम्बन्धी विषयमा बढी चासो देखिएको थियो।
महाधिवेशनस्थलमा पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरू प्रतिनिधिसँग मत माग्न व्यस्त देखिएका छन्। करिब ७ हजार ५०० महाधिवेशन प्रतिनिधिमध्ये ठूलो संख्यामा नेता तथा कार्यकर्ता विभिन्न पदको दौडमा रहेको कांग्रेस महाधिवेशनस्थलमा देखिन्छ।
विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्दसत्रबाट पारित गरिनेछ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु हुने भएकाले त्यसअघि नै विधान पारित गरिएको कांग्रेसले जनाएको छ।

Leave a Comment