कांग्रेस महाधिवेशन : खुलामञ्चबाट गगनको नयाँ राजनीतिक सन्देश, नेतृत्व परिवर्तनको अपेक्षासहित जुटे हजारौँ प्रतिनिधि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 6 मिनेट

काठमाडौँ, १८ असोज २०८३ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौँको खुलामञ्चमा उत्साहपूर्ण वातावरणमा उद्घाटन भएको छ।

हजारौँ प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थितिमा सुरु भएको उद्घाटन समारोहमा पार्टीको आगामी राजनीतिक दिशा, नेतृत्व र पुस्तान्तरणबारे व्यापक चर्चा भयो।
महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ तथा प्रतिपक्षी दलका नेताहरूले शुभकामना दिएका थिए। विभिन्न सांस्कृतिक झाँकी र प्रस्तुतिसमेत गरिएको समारोहमा कांग्रेस सभापति गगन थापाले पार्टीले अब विगतको गौरवमा मात्र निर्भर नभई वर्तमानका प्रश्नको समाधान खोज्नुपर्ने सन्देश दिए।
थापाले करिब ४० मिनेट लामो सम्बोधनमा कांग्रेसको इतिहास, वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे धारणा राखे। उनले लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र जनताको अपेक्षाबीच कांग्रेसले पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले कांग्रेस कुनै एक पक्षतर्फ ढल्किने नभई आफ्ना सिद्धान्त र विचारमा स्पष्ट भएर अघि बढ्नुपर्नेमा जोड दिए। निर्वाचन जित्नकै लागि सिद्धान्तसँग सम्झौता गर्ने संस्कृतिको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
‘आवश्यकता र अवस्थाबीच पुल चाहिएको छ, त्यो पुलको काम नेपाली कांग्रेसले गर्छ,’ थापाले भने।
उनले लोकतन्त्र र समृद्धि, स्वतन्त्रता र विकास तथा अनुभव र युवाको ऊर्जाबीच समन्वय कायम गर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए।
‘आजको प्रश्नको जवाफ कांग्रेससँग हुनुपर्छ’
थापाले विगतका आन्दोलनमा कांग्रेसले तत्कालीन राजनीतिक प्रश्नको जवाफ दिएको भए पनि अबको चुनौती फरक रहेको बताए। राणाशासनको अन्त्यदेखि पञ्चायतविरुद्धको आन्दोलन, हिंसात्मक द्वन्द्वको अन्त्य र संविधान निर्माणसम्म कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले अब नयाँ पुस्ताका प्रश्नको जवाफ दिन सक्ने पार्टी बन्नुपर्ने बताए।
उनले सुकुम्बासी, उद्यमी, दलित, महिला, थारु, अल्पसंख्यक तथा युवाका समस्या समाधान गर्ने ठोस राजनीतिक कार्यक्रम आवश्यक रहेको बताए।
विश्व अर्थतन्त्रमा आएको परिवर्तन, रुस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रभावलाई समेत नेपालले गम्भीरतापूर्वक बुझ्नुपर्ने थापाको भनाइ थियो।
सरकार र प्रतिपक्षबीचको जुहारीले समस्या समाधान हुँदैन
सभापति थापाले वर्तमान सरकार र प्रतिपक्षबीच भइरहेको निरन्तर आरोप–प्रत्यारोपबाट मुलुकका समस्या समाधान नहुने बताए।
उनले सरकारलाई सरकारको जिम्मेवारी र प्रतिपक्षलाई प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे। नयाँ र पुरानो शक्तिबीचको संघर्षलाई मात्र केन्द्रमा राखेर देशका समस्या समाधान हुन नसक्ने उनको तर्क थियो।
थापाले वर्तमान सरकार गठन भएको केही महिना मात्रै भएकाले सबै समस्याको जिम्मेवारी सरकारमाथि थोपर्न नमिल्ने बताए। तर नयाँ नेतृत्वले विगतका कमजोरीबाट पाठ सिकेर काम गर्नुपर्ने उनको धारणा थियो।
कांग्रेसका कमजोरी स्वीकार गर्दै सुधारको प्रतिबद्धता
थापाले कांग्रेससहित पुराना राजनीतिक दलप्रति जनतामा बढेको वितृष्णाबारे पनि खुलेर चर्चा गरे।
संविधान निर्माणपछि दलहरू जनताको समस्या समाधानभन्दा सत्ता केन्द्रित राजनीतिमा बढी अल्झिएको उनको स्वीकारोक्ति थियो। नेताहरूबीच प्रधानमन्त्री पदकै लागि गठबन्धन र विवाद हुने प्रवृत्तिले जनतामा निराशा बढाएको उनले बताए।
राजनीतिप्रति वितृष्णा बढ्दै जाँदा ‘सबै दल उस्तै र सबै नेता खराब’ भन्ने भाष्य बलियो भएको उनको विश्लेषण थियो।
उनले अब कांग्रेसले आफ्ना कमजोरी सच्याएर जनतासँग पुनः जोडिनुपर्ने बताए। यो महाधिवेशन पार्टी नवीकरणको सुरुवात बन्नुपर्ने उनको भनाइ थियो।
रवि लामिछानेको सरकार नढल्ने दाबी
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सत्तारूढ दलका नेता रवि लामिछानेले पनि सम्बोधन गरे। उनले वर्तमान सरकार ढल्ने चर्चा गर्नेहरूमाथि व्यङ्ग्य गर्दै सरकार तत्काल नढल्ने दाबी गरे।
लामिछानेले आफूहरूले व्यक्तिलाई केन्द्रमा राखेर नभई राजनीतिक प्रणाली सुधार र इतिहास बदल्ने उद्देश्यका साथ सरकार निर्माण गरेको बताए।
सरकार दसैँ, तिहार वा छठमा ढल्ने भनेर भइरहेका चर्चाप्रति कटाक्ष गर्दै उनले सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेको देखेर निराश हुने बताए।
उनले लोकतन्त्रलाई कुनै खतरा नरहेको र चुनौती आए जनताले नै लोकतन्त्रको रक्षा गर्ने धारणा राखे।
खुलामञ्चमा सौम्य वातावरण, युवादेखि ज्येष्ठसम्मको सहभागिता
यसपटक कांग्रेसको महाधिवेशन उद्घाटनमा विगतका महाधिवेशनजस्तो अत्यधिक तडकभडक देखिएन। खुलामञ्चलाई व्यवस्थित रूपमा सजाइएको थियो भने कांग्रेसको चारतारे झण्डा र सांस्कृतिक प्रस्तुतिले वातावरणलाई उत्सवमय बनाएको थियो।
देशभर तथा प्रवासबाट आएका सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्। प्रतिनिधिहरूमा ज्येष्ठदेखि १८ वर्षका युवासम्मको उल्लेख्य सहभागिता देखिएको थियो।
महाधिवेशनस्थलमा पार्टीको आगामी नेतृत्व र नीतिबारे प्रतिनिधिहरूबीच छलफलसमेत चलेको थियो। धेरै प्रतिनिधिले पुस्तान्तरण, पार्टी एकता, गुटको अन्त्य र नयाँ राजनीतिक कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
चितवनबाट आएकी ७८ वर्षीया कांग्रेस कार्यकर्ता शारदा देवी गुरुङले लामो समय पार्टीमा काम गरेपछि अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन्। उनले कांग्रेसभित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाएको भन्दै एकताबद्ध कांग्रेस हेर्ने चाहना व्यक्त गरिन्।
त्यस्तै, महाधिवेशनकी कान्छी प्रतिनिधिमध्येकी १८ वर्षीया अभिप्सा पौडेलले युवाको सहभागिताले कांग्रेस परिवर्तनको बाटोमा अघि बढेको सन्देश दिएको बताइन्।
दैलेखबाट आएका ७० वर्षीय नरसिंह मल्लले आफू युवालाई नेतृत्व हस्तान्तरण गर्ने अपेक्षासहित महाधिवेशनमा आएको बताए।
३५ वर्षमुनिका युवाका लागि कोटाले बढायो आकर्षण
कांग्रेसले ३५ वर्षमुनिका युवालाई केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गराउन २१ सदस्यको व्यवस्था गरेपछि युवा प्रतिनिधिमा थप उत्साह देखिएको छ।
महाधिवेशनमा सहभागी युवाहरूले यसलाई पार्टीभित्र पुस्तान्तरण र नेतृत्वमा नयाँ पुस्ताको प्रवेशका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
प्रतिनिधिहरूले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै संगठनलाई जनतासँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिएका छन्। धेरैले आगामी नेतृत्वले पार्टीलाई सत्ता केन्द्रित नभई जनतामुखी बनाउनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।
असोज २२ गतेसम्म चल्ने
कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन गर्नुका साथै कांग्रेसको राजनीतिक नीति र कार्यदिशाबारे समेत महत्वपूर्ण निर्णय गर्नेछ।
उद्घाटन समारोहबाटै कांग्रेसले विगतको समीक्षा, वर्तमान चुनौतीको स्वीकारोक्ति र नयाँ राजनीतिक यात्राको संकेत दिएको छ। अब महाधिवेशनको बन्दसत्रसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।

Leave a Comment