काठमाडौं, असोज १९ । युइएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।
चौथो म्याचडेअन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलले सुरुवाती गोल खाए पनि उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो। जितसँगै टोलीले समूहमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ।
नर्वेले पहिलो हाफको ३६औँ मिनेटमा क्रिस्टोफर एजेरको उत्कृष्ट हाफ–भलीमार्फत अग्रता लिएको थियो। तर नर्वेको अग्रता लामो समय टिकेन। त्यसको दुई मिनेटपछि जोआओ क्यान्सेलोले आकर्षक गोल गर्दै पोर्चुगललाई खेलमा फर्काए।
दोस्रो हाफमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे। खेलको ७९औँ मिनेटमा जोआओ फेलिक्सको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोन्सालो रामोसले गोल गरेपछि पोर्चुगलले २–१ को अग्रता बनायो।
खेलको अन्तिम समयमा फ्रान्सिस्को कन्सेसियाओ दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए पनि पोर्चुगलले नर्वेलाई थप गोल गर्न नदिई जित सुरक्षित गर्यो।
सोही समूहको अर्को खेलमा डेनमार्कले वेल्सलाई १–० ले हरायो। डेनमार्कका रास्मस होयलुन्डले दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई जित दिलाए।
यस्तै, समूह ए–२ मा नेदरल्याण्ड्सले सर्बियालाई २–१ ले पराजित गर्दा अर्को खेलमा ग्रिस र जर्मनीले गोलरहित बराबरी खेले। नेदरल्याण्ड्सका लागि तेउन कुपमेनर्स र जोसुवा जर्कजीले गोल गरे भने सर्बियाका मिहाज्लो भ्सेत्कोभिचले एक गोल फर्काए।
समूह बी–३ का खेलमा कोसोभो र अस्ट्रियाले १–१ तथा गणतन्त्र आयरल्याण्ड र इजरायलले पनि १–१ को बराबरी खेले। लिग डी अन्तर्गत अजरबैजानले लिथुआनियालाई तथा माल्टाले एन्डोरालाई समान १–० गोलले पराजित गरे।
नर्वेलाई हराउँदै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पुग्ने पहिलो टोली
Leave a Comment
Leave a Comment

