मनसुनी गतिविधि सक्रिय हुँदै, आज र भोलि भारी वर्षाको सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । देशभर मनसुनी गतिविधि बढ्ने क्रममा रहेकाले आज र भोलि विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने जनाएको छ। यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ।

विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा जलवाष्पयुक्त हावाको मात्रा बढ्दै गएको छ। यसले गर्दा वर्षाको गतिविधि थप सक्रिय हुने अनुमान गरिएको हो।

भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

विभागले वर्षाका कारण दैनिक जनजीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भन्दै आवश्यक तयारी अपनाउन अनुरोध गरेको छ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार पछिल्लो समय मनसुनी वायु लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा बढी केन्द्रित भइरहेको छ। उनका अनुसार कञ्चनपुरको हनुमाननगर क्षेत्रमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा भएको छ।

उनले लुम्बिनी पश्चिमदेखि सुदूरपश्चिम क्षेत्रमा राति र बिहानतिर वर्षाको सम्भावना बढी रहेको बताएका छन्। मध्य मधेस क्षेत्रमा भने आगामी दुई दिन ठूलो वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।

Leave a Comment