काठमाडौं, असार १८ — नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत जनकपुरबाट भएको फैसलापछि उनलाई महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कोइरीलाई अदालतले तोकेको पाँच वर्ष कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरिएको हो। उच्च अदालत जनकपुरले बुधबार थमन विक हत्या प्रकरणमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेको थियो।
यसअघि महोत्तरी जिल्ला अदालतले सोही मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर पुनरावेदनपछि उच्च अदालतले जिल्ला अदालतको निर्णय बदर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको हो।
अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

