काठमाडौं, माघ ५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाइ तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्य अन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छापिएको आयोगले जनाएको छ। आयोगले यस निर्वाचनका लागि कुल दुई करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गर्ने लक्ष्य लिएको छ।
निर्वाचन व्यवस्थापन सहज बनाउन कुल मतदाता सङ्ख्याभन्दा केही प्रतिशत बढी मतपत्र छापिने आयोगको तयारी छ। आयोगका अनुसार अब एक करोड १९ लाख १३ हजार थान मतपत्र छपाइ हुन बाँकी छ।
छापिएका मतपत्रमध्ये हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र प्याकिङ सम्पन्न भइसकेको छ भने थप १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी रहेको जनाइएको छ।
यसैबीच, आयोगले निर्वाचन प्रक्रिया तथा प्रशिक्षण प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान मतपत्र नमुना स्वरूप आयोगमै सुरक्षित राखेको छ।
निर्वाचन आयोगले निर्धारित समयभित्र छपाइ र प्याकिङ कार्य सम्पन्न गरी सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्याउने तयारी भइरहेको जनाएको छ।



