काठमाडौं, असोज ३ । जापानको आइची–नागोयामा २०औँ एसियाली खेलकुद आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।
‘इमाजिन वन एसिया’ नाराका साथ आयोजना हुने एसियाडको उद्घाटन समारोह नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा हुँदैछ।
उद्घाटन समारोहसँगै एसियाको सबैभन्दा ठूलो बहुखेल प्रतियोगिताले औपचारिक गति लिनेछ।
यद्यपि महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, आधुनिक पेन्टाथलन, महिला भलिबल र सफ्ट टेनिसलगायत केही खेलका प्रतिस्पर्धा भने उद्घाटनअघि नै सुरु भइसकेका छन्। प्रतियोगिताको समापन असोज १८ गते हुनेछ।
आइची–नागोया एसियाडमा एसियाका करिब १७ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन्। नागोयासहित टोकियो, सिजुओका, गिफु र ओसाकाका विभिन्न स्थानमा खेल सञ्चालन हुनेछन्। प्रतियोगिताका लागि ५४ खेलस्थल तयार पारिएका छन्।
यस संस्करणमा ४३ खेलअन्तर्गत ७१ विधामा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। नियमित ओलम्पिक खेलसँगै मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, टेकबल, सर्फिङ, भर्चुअल तेक्वान्दो र फ्रिस्टाइल बीएमएक्सलगायत खेल पनि समावेश छन्।
नेपालले यसपटक २१ खेलमा सहभागिता जनाउँदैछ। त्यसका लागि १३५ नेपाली खेलाडी जापान पुगेका छन्। यसअघि घोषणा गरिएको खेलाडी सङ्ख्याभन्दा दुई जना घटेका छन्। डान्स स्पोर्ट्समा एक खेलाडी मात्र रहेकाले सहभागिता हुन सकेन भने उसुका मुकेश पण्डित अस्वस्थताका कारण जापान जान सकेनन्।
नेपालले यसपटक विगतका तुलनामा बढी पदक जित्ने लक्ष्य राखेको छ। नेपाली खेलाडीहरूले लामो समयदेखि प्रतियोगिताको तयारी गरेका थिए। पछिल्ला दुई महिनादेखि अधिकांश टोली उच्चस्तरीय बन्द प्रशिक्षणमा रहेका थिए भने केही खेलाडीले विदेशमा प्रशिक्षणसमेत लिएर जापान पुगेका छन्।
उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झन्डा राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले बोक्नेछन्।
नेपाल पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागी हुँदै आएको राष्ट्र हो। दोस्रो संस्करणबाहेक नेपालले अहिलेसम्म सबै संस्करणमा सहभागिता जनाएको छ। तर, एसियाडमा नेपालले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन।
नेपालले सन् १९८६ को सोल एसियाडदेखि लगातार पदक जित्दै आएको छ। अहिलेसम्म नेपालले एसियाली खेलकुदबाट तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ।
नेपालका लागि एसियाडमा अहिलेसम्मकै ठूलो उपलब्धि रजत पदक हो। तेक्वान्दोकी सविता राजभण्डारीले १३औँ एसियाडमा, पाराग्लाइडिङ टोलीले १८औँ एसियाडमा र कराँतेकी एरिका गुरुङले पछिल्लो संस्करणमा रजत पदक जितेका थिए।
नेपालका लागि तेक्वान्दोले एक रजत र १३ कांस्यसहित सर्वाधिक १४ पदक दिलाएको छ। कराँतेले एक रजत र दुई कांस्य, पाराग्लाइडिङले एक रजत, बक्सिङले सात कांस्य तथा कबड्डीले एक कांस्य पदक जितेका छन्।
यसपटक नेपालका लागि पहिलो स्वर्ण पदक जित्ने लक्ष्यसँगै लगातार पदक जित्दै आएको यात्रालाई कायम राख्नु मुख्य चुनौतीका रूपमा रहेको छ। कराँते, उसु, बक्सिङ र क्रिकेटलगायत खेलबाट नेपाली टोलीले पदकको अपेक्षा गरेको छ।

