भरत चोकमा जेन्जी युथ बाराद्वारा श्रद्धाञ्जली सभा, निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, असार २७ – जेन्जी युथ बारा (Gen Z Youth Bara) ले शनिबार साँझ कलैया उपमहानगरपालिका–४ स्थित भरत चोकमा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा आयोजना गर्दै हालै भएका विभिन्न दुःखद घटनाका मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।
जेन्जी युथ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा आयोजित कार्यक्रममा युवाहरूले कलैया उपमहानगरपालिका–२१ भोडहाकी सरिया खातुन, कलैया उपमहानगरपालिका–२५ सिसहनियाकी सन्ध्या कुमारी तथा काठमाडौंमा आत्मदाह गरेका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
श्रद्धाञ्जली सभामा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सौरभ पाण्डेयले समाजमा भइरहेका यस्ता दुःखद घटनाले सबैलाई गम्भीर बनाएको उल्लेख गर्दै पीडितले न्याय नपाउँदासम्म जेन्जी युथ बाराले आवाज उठाइरहने बताए। उनले सम्बन्धित निकायलाई निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे।
श्रद्धाञ्जली सभामा सहभागी युवाहरूले मैनबत्ती बालेर मौनधारण गरेका थिए। उनीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन राज्य संवेदनशील बन्नुपर्नेमा जोड दिएका थिए।

Leave a Comment