काठमाडौं, असार २८ — कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीमा स्थानान्तरण गरिएका सुकुमवासी परिवारलाई सरकारले दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सरकारका ६ मन्त्री खरिपाटी पुगेर सुकुमवासीसँग भेटघाट गर्दै लालपुर्जा वितरणदेखि शिक्षा, स्वास्थ्य र पुनर्स्थापनासम्मका विषयमा आश्वासन दिएका हुन्।
भूमिसुधार मन्त्री प्रतिभा रावलले कानुनी प्रक्रिया पूरा गरेर मात्र सुकुमवासीलाई सुरक्षित रूपमा लालपुर्जा वितरण गरिने बताइन्। हतारमा निर्णय गर्दा भविष्यमा कानुनी विवाद उत्पन्न हुन सक्ने भएकाले जग्गा र वास्तविक लाभग्राहीको पहिचानपछि मात्रै लालपुर्जा उपलब्ध गराइने उनको भनाइ थियो।
उनले सुकुमवासीको मात्र होइन, वितरण गरिने जग्गाको पनि स्पष्ट पहिचान आवश्यक रहेको उल्लेख गर्दै केही समय लागे पनि स्थायी समाधानतर्फ सरकार अघि बढिरहेको जानकारी दिइन्।
गृहमन्त्री सुधन गुरुङले विस्थापित परिवारका बालबालिकाको शिक्षा, सुरक्षा र अन्य आधारभूत आवश्यकताप्रति सरकार संवेदनशील रहेको बताए। उनले सुकुमवासीको पुनर्स्थापना र दैनिक जीवन सहज बनाउन आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे।
शनिबार लगातारको वर्षापछि कीर्तिपुरस्थित होल्डिङ सेन्टर जलमग्न बनेपछि त्यहाँ रहेका सुकुमवासी परिवारलाई भक्तपुरको खरिपाटीमा सारिएको थियो।
खरिपाटी पुगेको सरकारी टोलीमा गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिलामन्त्री सीता वादी र भूमिसुधारमन्त्री प्रतिभा रावल सहभागी थिए।
सरकारले तत्काल राहतका साथै कानुनी प्रक्रिया पूरा गरी सुकुमवासीको दीर्घकालीन व्यवस्थापन र लालपुर्जा वितरणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने जनाएको छ।
खरिपाटी पुगे ६ मन्त्री, सुकुमवासीलाई लालपुर्जा र पुनर्स्थापनाको आश्वासन
Leave a Comment
Leave a Comment

