वीरगञ्ज भन्सारबाट एक वर्षमा २ खर्ब ४३ अर्बभन्दा बढी राजस्व संकलन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

वीरगञ्ज, साउन २ — वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु २ खर्ब ४३ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि कार्यालयलाई रु २ खर्ब ७३ अर्ब ३७ करोड राजस्व उठाउने लक्ष्य दिइएको थियो। लक्ष्यभन्दा केही कम संकलन भए पनि वीरगञ्ज भन्सारले देशकै सबैभन्दा धेरै राजस्व उठाउने भन्सार कार्यालयको रूपमा आफ्नो अग्रस्थान कायम राखेको छ।
भन्सार विभागले गत आर्थिक वर्षमा देशभरका भन्सार कार्यालयबाट रु ५ खर्ब ८८ अर्ब २५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कुल लक्ष्यमध्ये वीरगञ्ज भन्सारको हिस्सा ४१.४५ प्रतिशत रहेको छ, जसले राष्ट्रिय राजस्व संकलनमा यसको महत्त्वपूर्ण योगदान देखाउँछ।
कार्यालयले मासिक रूपमा पनि उल्लेखनीय राजस्व संकलन गरेको छ। साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मंसिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड, जेठमा रु २२ अर्ब ३२ करोड र असारमा रु २२ अर्ब ४ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
वीरगञ्ज भन्सारबाट हुने राजस्व संकलनले मुलुकको कुल भन्सार राजस्वमा सबैभन्दा ठूलो योगदान पुर्‍याउँदै आएको छ।

Leave a Comment