काठमाडौं, साउन ४ — साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा लेखाएको छ। सन् २०१० पछि पहिलोपटक विश्वकप जित्दै स्पेनले १६ वर्षको प्रतीक्षा पनि अन्त्य गरेको हो।
अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा सोमबार सम्पन्न रोमाञ्चक फाइनलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
खेलको निर्णायक क्षण १०६औँ मिनेटमा आयो, जब स्पेनका फेर्रान टोरेजले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि बाँकी समयमा अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन र स्पेन विश्वविजेता बन्यो।
अर्जेन्टिनाले निर्धारित समयमै ठूलो धक्का बेहोरेको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। अतिरिक्त समयमा यही संख्यात्मक कमजोरिको फाइदा उठाउँदै स्पेनले विजयी गोल गर्न सफल भयो।
यसअघि सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले हराएर फाइनल यात्रा तय गरेको थियो भने स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
यो जितसँगै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि जित्दै अन्तर्राष्ट्रिय फुटबलमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ भने अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो।
१६ वर्षपछि स्पेन विश्वविजेता, अर्जेन्टिनाको लगातार दोस्रो उपाधि सपना समाप्त
Leave a Comment
Leave a Comment

