काठमाडौं, साउन ८ — नेपाल सरकारले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार नियन्त्रण अभियानलाई तीव्र बनाउँदै दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फिफा विश्वकप सुरु भएयता मात्रै २ लाख २३ हजार ५६८ वटा बेटिङ तथा गैरकानुनी आर्थिक कारोबारमा प्रयोग भएका वेबसाइट र एपमा पहुँच रोकिएको छ।
सरकारले गत चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत अनलाइन सट्टेबाजी, स्क्यामिङ र अवैध डिजिटल कारोबार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको थियो। सोही कार्ययोजनाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यस्ता वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो।
प्राधिकरणका अनुसार पहिले बन्द गरिएका धेरै वेबसाइट नयाँ नाम र नयाँ डोमेनमार्फत पुनः सञ्चालनमा आउने गरेकाले निगरानी र कारबाहीलाई निरन्तर जारी राखिएको छ।
दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप अवधिभर इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिलाई प्राधिकरणमै परिचालन गरी शंकास्पद वेबसाइट तत्काल पहिचान गरेर ब्लक गर्ने व्यवस्था मिलाइएको थियो।
उनका अनुसार आईएसपीसँगको समन्वयमा वेबसाइटको यूआरएल अवरुद्ध गरिए पनि नयाँ वेबसाइट निरन्तर खुल्ने भएकाले नियन्त्रण अभियान पनि निरन्तर चलाउनुपर्ने अवस्था रहेको छ। त्यसका लागि थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरेर नयाँ वेबसाइट पहिचान गर्ने र तत्काल ब्लक गर्ने काम भइरहेको उनले बताए।
सरकारले अनलाइन बेटिङ, साइबर ठगी र अवैध डिजिटल कारोबार नियन्त्रणलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने जनाएको छ।
अवैध अनलाइन बेटिङविरुद्ध सरकारको कडा कदम, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
Leave a Comment
Leave a Comment

