राष्ट्रिय सभा निर्वाचनः उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको आज बैठक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, पुस २२, २०८२ ।
आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाउन आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक मंगलबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा कांग्रेसका तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने उम्मेदवार छनोट गर्नुका साथै अन्य दलसँगको चुनावी तालमेलबारे निर्णायक छलफल हुने पार्टीले जनाएको छ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सिट बाँडफाँटको विषयमा नेकपा एमाले, माओवादी केन्द्रलगायत दलहरूसँग छलफल जारी छ। बैठकले कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसबाट उम्मेदवार बन्ने व्यक्तिहरू को हुने भन्ने विषयमा औपचारिक निर्णय गर्नेछ।

राष्ट्रिय सभामा कांग्रेसको प्रभावशाली उपस्थिति रहेकाले त्यसलाई जोगाउँदै थप सुदृढ बनाउने रणनीतिसहित पार्टी अघि बढेको नेताहरूको भनाइ छ। आजको बैठकपछि कांग्रेसको आधिकारिक उम्मेदवार सूची सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Leave a Comment