काठमाडौं, साउन ९ — नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधन गर्दै डिजिटल वालेट प्रयोगमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउने व्यवस्था लागू गरेको छ।
भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार अब भुक्तानी सेवा प्रदायक (वालेट) कम्पनीहरूले नयाँ वालेट खोल्दा नेपाली नागरिकको राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखसँग विवरण मिलान गर्नुपर्नेछ।
यस्तै, हाल सञ्चालनमा रहेका सबै वालेट प्रयोगकर्ताले २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर वालेटमा अद्यावधिक गर्नुपर्नेछ। यसका लागि वालेट कम्पनीहरूले मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रयोगकर्ताको स्वघोषणा संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय परिचयपत्र नबनाएका प्रयोगकर्तालाई भने परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न नियमित रूपमा सूचना दिनुपर्ने जिम्मेवारी पनि सेवा प्रदायक संस्थालाई दिइएको छ।
विदेशमा रहेका नेपाली नागरिकले भने हालझैँ अनलाइनमार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्नेछन्। तर नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट गरेको छ।
त्यस्तै, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका लागि राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक प्रमाणका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने विशेष व्यवस्था संशोधित निर्देशिकामा समावेश गरिएको छ।
राष्ट्र बैंकले यो व्यवस्था लागू गरेसँगै डिजिटल भुक्तानी प्रणालीमा प्रयोगकर्ताको पहिचान थप विश्वसनीय हुने, वित्तीय कारोबार सुरक्षित बन्ने तथा नियामकीय निगरानी प्रभावकारी हुने अपेक्षा गरेको छ।
राष्ट्रिय परिचयपत्रबिनै वालेट चलाउने व्यवस्था कडाइ, राष्ट्र बैंकको नयाँ निर्देशन
Leave a Comment
Leave a Comment

