काठमाडौं, साउन १९ — सुनसरी घटनामा घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रवीन मेहताका परिवार र सरकारबीच मंगलबार भएको वार्ता सकारात्मक निष्कर्षतर्फ अघि बढेको छ।
शिक्षण अस्पताल, महाराजगञ्जमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा सरकारले पीडित परिवारले उठाएका मागप्रति संवेदनशील रहेको जनाउँदै आवश्यक सहयोग, राहत तथा न्याय सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलका क्रममा गृहमन्त्री गुरुङले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएका थिए।
परिवारका प्रतिनिधिहरूले भने मेहताका बुबाआमासँग थप परामर्श गरेपछि बुधबार पुनः छलफलमा सहभागी हुने बताएका छन्। उनीहरूले तत्कालका लागि रवीन मेहताको शव बुझेर पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएका छन्।
दुवै पक्षबीचको संवाद सकारात्मक ढंगले अघि बढेकाले बुधबार हुने अर्को चरणको वार्तामार्फत सहमतिलाई अन्तिम रूप दिने तयारी भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
रवीन मेहता सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको निधन भएको हो।
रवीन मेहता प्रकरण : सरकार–परिवार वार्ता सकारात्मक, शव परीक्षण गर्ने सहमति
Leave a Comment
Leave a Comment

