देउवा इतर पक्षको राष्ट्रिय भेलामा पुगे, शशांकले भने– ‘उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको भेलामा देउवा सहभागी हुन पुगेका हुन्। राष्ट्रिय भेला आयोजक समितिका संयोजक तथा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो।
बिहीबार मात्रै नेपाल फर्किएका देउवा शुक्रबार आयोजित इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका हुन्। यसअघि जेन्जी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि उनी उपचारका लागि फागुन १३ गते सिंगापुर गएका थिए। सिंगापुरबाट हङकङ र त्यसपछि थाइल्याण्ड हुँदै देउवा नेपाल फर्किएका थिए।
भेलालाई सम्बोधन गर्दै डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताए। उनले कांग्रेस एकजुट भए कसैले पनि पार्टीलाई पराजित गर्न नसक्ने दाबी गरे।
कोइरालाले देउवासँग आफ्नो लामो सम्बन्धको प्रसंगसमेत सुनाए। उनका अनुसार बीपी कोइरालाले पहिलोपटक बनारसमा देउवासँग आफ्नो परिचय गराएका थिए। त्यसपछि गिरिजाप्रसाद कोइरालाले देउवालाई सम्पर्क गर्न आफूलाई फोन गर्न लगाएको उनले बताए।
२०४६ सालको जनआन्दोलनपछि लन्डनमा रहेका देउवालाई आफूले फोन गरेको स्मरण गर्दै कोइरालाले देउवाको राजनीतिक यात्राबारे समेत चर्चा गरे।
देउवा राष्ट्रिय भेलामा सहभागी भएपछि कार्यक्रम थप सफल भएको बताउँदै कोइरालाले आगामी दिनमा पनि देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्ने बताए।
‘शेरबहादुर हाम्रो नेता हो, हाम्रो सभापति हो,’ कोइरालाले भने, ‘उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।’
उनले कांग्रेसभित्र एकता कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा समेत जोड दिए।

Leave a Comment