चिसापानीगढी दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै पहिचान खुल्यो, १० जना एउटै गाउँका

पढ्न लाग्ने समय : 1 मिनेट

मकवानपुर, २६ कात्तिक। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको भीषण सवारी दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै पहिचान खुलेको छ।

मृतकमध्ये १० जना सर्लाहीको एउटै गाउँका बासिन्दा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनास्थलबाट उद्धार टोलीले पाँच महिला र छ पुरुष गरी ११ जनाको शव फेला पारेको हो।

प्रहरीका अनुसार मृतकमध्ये १० जना सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर टोलका बासिन्दा हुन्। दुर्घटनामा एउटै परिवारकी आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीको समेत मृत्यु भएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादव रहेका छन्।
त्यस्तै, ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्रीदेवीको पनि दुर्घटनामा मृत्यु भएको छ।
यसैगरी २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले पनि ज्यान गुमाएका छन्।
दुर्घटनामा मृत्यु भएका सवारी चालकको पहिचान सर्लाही जिल्लाको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रविशंकर कुमार मण्डलका रूपमा खुलेको प्रहरीले जनाएको छ।
एउटै गाउँका १० जनासहित दुई परिवारका सदस्यले एकै दुर्घटनामा ज्यान गुमाएपछि सुन्दरपुर टोल शोकमा डुबेको छ।

Leave a Comment