बरियारपुरमा मोटरसाइकलको ठक्करपछि विवाद, चक्कु प्रहारबाट युवक घाइते; दुई जना प्रहरी नियन्त्रणमा

पढ्न लाग्ने समय : 2 मिनेट

बारा, २६ कात्तिक। बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा मोटरसाइकलको ठक्करबाट दुई वर्षीया बालिका घाइते भएपछि उत्पन्न विवादले उग्र रूप लिँदा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान करिब १० बजे बरियारपुर बजारस्थित गढीमाई मन्दिर नजिकै १५ वर्षीय बालकले चलाएको प्रदेश ०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेकी स्थानीय दुई वर्षीया अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो। ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो।

घाइते बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरी घर पठाइएको थियो।
सोही घटनालाई लिएर विवाद भएपछि स्थानीय ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालक पक्षका व्यक्तिबीच भनाभन भएको थियो। विवादकै क्रममा स्थानीय पहलाद साह लहेराका १९ वर्षीय छोरा सुरज साह लहेरामाथि चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट सुरजको पिठ्युँमा चोट लागेको छ। घाइते उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र उपचारमा आफन्त संलग्न रहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी नायब निरीक्षक कपिल अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा समेत प्रहरी टोली खटिएको थियो।
चक्कु प्रहारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment