कर्णालीलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २६ कात्तिक। साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए। दिलीप नाथले अविजित २८ तथा निरोशन डिकवेलाले १६ रनको योगदान दिए।

बलिङतर्फ कर्णालीका मार्क वाटले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। हुसेन तलात र पवन सर्राफले एक–एक विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्स १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको थियो।
कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका बलरमध्ये कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेक गौतमले समान दुई–दुई विकेट लिए भने शेर मल्लले एक विकेट लिए।
यस जितसँगै लुम्बिनीले ६ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लुम्बिनीले चार खेलमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो।
यता कर्णाली याक्सको प्लेअफ यात्रा भने कठिन बनेको छ। ६ खेल खेलेको कर्णालीले दुई खेलमा मात्र जित निकाल्दा चार खेलमा हार बेहोरेको छ। चार अंकसहित कर्णाली दबाबमा परेको छ।
साविक विजेता लुम्बिनीको प्लेअफ प्रवेशसँगै प्रतियोगिताको आगामी चरणको प्रतिस्पर्धा थप रोचक बनेको छ।

Leave a Comment