काठमाडौं, कात्तिक २६। बढ्दो महँगी र आवास संकटको विरोधमा स्पेनमा हजारौँ मानिस सडकमा उत्रिएका छन्।
प्रमुख श्रमिक संगठनहरूको आह्वानमा १४ वर्षपछि पहिलोपटक आयोजित आमहडतालका क्रममा विभिन्न सहरमा प्रदर्शन भएका छन्। यसैबीच बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ।
प्रदर्शनमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार मानिस सहभागी भएका थिए भने बार्सिलोनामा ५० हजारभन्दा बढीले सडकमा उत्रिएर सरकारविरुद्ध आवाज उठाएका थिए।
बार्सिलोनामा केही नकाबधारी प्रदर्शनकारीले फोहोर फाल्ने डिब्बामा आगजनी गर्नुका साथै पसलहरूमा तोडफोड गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो। गृह मन्त्रालयका अनुसार विभिन्न घटनामा दर्जनौँ व्यक्तिलाई पक्राउ गरिएको छ।
आमहडतालका कारण स्पेनभर यातायात तथा अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन्। राजधानी म्याड्रिड र बार्सिलोनाका प्रमुख सडकहरूमा सवारी आवागमनसमेत अवरुद्ध भएको थियो। यद्यपि, बार्सिलोनामा भएका अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेका थिए। प्रदर्शनमा बालबालिका र ज्येष्ठ नागरिकसमेत सहभागी भएका थिए।
प्रदर्शनमा सहभागी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आफ्नो तलबको तुलनामा दैनिक उपभोग्य वस्तु तथा जीवनयापनको खर्च अत्यधिक बढेकाले सामान्य जीवन चलाउन कठिन भएको बताएकी छन्।
स्पेनमा आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ। आवास सुधारसम्बन्धी आफ्नो योजनाले संसद्बाट स्वीकृति पाउन नसकेपछि प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना नै मध्यावधि निर्वाचन घोषणा गरेका थिए।
प्रधानमन्त्री सान्चेज र उनका मन्त्रीहरूले पनि नागरिकलाई काम रोकेर किफायती आवासको मागसहित आन्दोलनमा सहभागी हुन प्रोत्साहित गरेका छन्।

