हेटौँडा, २६ कात्तिक। मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको भीषण माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये अहिलेसम्म चालकको मात्र सनाखत भएको छ।
दुर्घटनामा घाइते भएका ६ जनाको भने परिचय खुलेको छ।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।
दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको जिल्ला प्रहरीको जानकारी छ। मृतक चालकको पहिचान सर्लाहीको कविलास गाउँपालिका निवासी रविशंकर कुमार मण्डलका रूपमा भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए। अन्य नौ मृतकको सनाखत हुन बाँकी रहेको छ।
यसैगरी दुर्घटनामा घाइते भएका ६ जनाको परिचय खुलेको छ। घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, आठ वर्षीय सुदीप यादव र ‘बच्चु’ उपनामले चिनिने देवेन्द्र राय रहेका छन्।
घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। मृतकमध्ये चार जनाको शव अस्पताल ल्याइसकिएको छ भने अन्य शव ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मृतकको सनाखत तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

