मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, खानतलासीका क्रममा प्रहरीलाई अवरोध

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

विराटनगर, १ भदौ । मोरङ जिल्ला कारागारमा सोमबार बिहान कैदीबन्दीले प्रदर्शन गरेका छन्। प्रहरीले कारागारभित्र खानतलासी थालेपछि कैदीबन्दीहरू छतमा बसेर विरोधमा उत्रिएका हुन्।
विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागार मोरङमा बिहान करिब ५ बजेदेखि सुरक्षा टोलीले खानतलासी सुरु गरेको थियो। खानतलासीका क्रममा कारागारको ब्लक ‘बी’ मा रहेका कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालसहितको सुरक्षा टोली कारागार पुगेको छ। कारागारको सुरक्षा व्यवस्था कडा बनाउँदै प्रशासनले केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीसमेत गरेको जनाइएको छ।
प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले प्रशासनले आफूहरूलाई अनावश्यक दुःख दिने गरेको आरोप लगाएका छन्। यही विषयलाई लिएर उनीहरूले विरोध जनाउँदै कारागारभित्र अवरोध सिर्जना गरेका हुन्।
प्रशासनले विवादास्पद छविका अभिषेक गिरीका केही सहयोगीलाई कारागारबाट स्थानान्तरण गर्ने तयारी गरेको थियो। त्यसै क्रममा सुरक्षा टोलीले कारागारमा खानतलासी अघि बढाएको जनाइएको छ।
कारागारभित्रको अवस्था नियन्त्रणमा लिन सुरक्षा टोली परिचालन गरिएको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave a Comment