नेपाल र यूएईबीच ‘एल क्लासिको’ भिडन्त आज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच महत्वपूर्ण खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान साढे ९ बजे सुरु हुने यस खेललाई दुवै टोलीका लागि निर्णायक अवसरका रूपमा हेरिएको छ।
सिरिजको तेस्रो खेलका रूपमा हुने यस भिडन्तमा नेपाल अघिल्लो प्रदर्शन सुधार्ने लक्ष्यमा छ। यसअघि नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनले हार व्यहोरेको थियो। यता, यूएईले ओमानलाई २५ रनले हराउँदै आत्मविश्वास बढाएको छ।
अंकतालिकामा दुवै टोली पुछारतिर रहे पनि नेपाल–यूएईबीचको प्रतिस्पर्धा सधैं रोचक मानिन्छ। यी दुईबीचको खेललाई क्रिकेटमा ‘एल क्लासिको’ को रूपमा समेत चिनिन्छ, जसले खेलप्रेमीको ध्यान तान्ने गरेको छ।
हाल लिग–२ मा नेपाल २२ खेलबाट १४ अंकसहित सातौं स्थानमा छ भने यूएई १२ अंकसहित आठौं स्थानमा रहेको छ। शीर्ष चारमा पुग्ने टोलीले सिधै विश्वकप छनोट खेल्ने अवसर पाउने भएकाले दुवैका लागि आजको खेल महत्त्वपूर्ण बनेको छ।
लिगको शीर्ष स्थानमा अमेरिका ३६ अंकसहित अगाडि छ भने स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स, नामिबिया र क्यानडा क्रमशः दोस्रोदेखि छैटौं स्थानमा छन्।
अघिल्लो संस्करणमा नेपाल ४० अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो। यसपटक पनि सोही उपलब्धि दोहोर्याउने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।

Leave a Comment