काठमाडौं । प्रतिनिधिसभामा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबीच पछिल्लो समय देखिएको असमझदारी र संसदीय गतिविधिप्रति पार्टी नेतृत्वले चासो देखाएको छ।
यसै विषयमा रास्वपाले बुधबार मन्त्रीहरूसहित आफ्ना सांसदसँग छलफल गर्ने भएको छ। संसदीय दलको कार्यालयमा बिहान ११ बजे हुने बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदलाई आवश्यक निर्देशन दिने तयारी छ।
बैठकमा सरकार र पार्टीका सांसदबीच बढ्दै गएको मतभेद, संसद्मा सांसदहरूको प्रस्तुतिलगायत पछिल्ला गतिविधिको समीक्षा गरिने रास्वपाका एक नेताले बताएका छन्। संसदीय अनुशासन र मर्यादाको विषयमा प्रश्न उठेका सांसदलाई सचेत गराउने तयारीसमेत रहेको ती नेताको भनाइ छ।
पार्टीभित्र सांसदहरूले संसद्मा प्रयोग गर्ने भाषा तथा सार्वजनिक अभिव्यक्ति र गतिविधि मर्यादित हुनुपर्ने विषयमा समेत छलफल हुने बताइएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै रास्वपा सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र सदनको गरिमालाई ध्यान दिन सचेत गराएका थिए।
सभामुखले बोल्ने अनुमति नदिएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन्। उक्त घटनापछि रास्वपाले आफ्ना सांसदहरूको संसदीय भूमिकामाथि समीक्षा गर्न लागेको हो।
सदनको गतिविधिप्रति रास्वपाको चासो, रविले मन्त्री र सांसदसँग छलफल गर्ने
Leave a Comment
Leave a Comment

