कांग्रेस महाधिवेशनमा प्रचारशैली बदलिँदै, पर्चा र तामझाम नगर्न उम्मेदवारलाई आग्रह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, १६ असोज २०८३-नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै प्रचारप्रसारलाई भड्किलो र खर्चिलो नबनाउने नीति अघि सारेको छ। पार्टीले महाधिवेशनका क्रममा सहरका भित्तामा पर्चा टाँस्ने तथा ठूलो तामझामसहित प्रचार सामग्री प्रदर्शन नगर्न उम्मेदवारहरूलाई आग्रह गरेको हो।
महाधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले वातावरणमैत्री र प्रविधिमैत्री प्रचारप्रसारमा जोड दिने जनाएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा उम्मेदवारहरूले सकेसम्म डिजिटल माध्यम प्रयोग गरेर आफ्ना प्रचार गतिविधि सञ्चालन गर्नुपर्नेछ। परम्परागत रूपमा प्रयोग हुँदै आएका पोस्टर, पर्चा तथा अन्य प्रचार सामग्रीले वातावरणमा पर्ने असरलाई ध्यानमा राख्दै यस्तो नीति लिइएको उनले बताए।
महाधिवेशनका क्रममा डिजिटल बोर्डको प्रयोग गर्ने तयारीसमेत गरिएको कांग्रेसले जनाएको छ। प्रवक्ता चालिसेले उम्मेदवारहरूलाई प्रचारका लागि पर्चा छपाइ नगर्न आग्रह गर्दै प्रविधिको माध्यमबाट प्रचारप्रसारलाई प्राथमिकता दिन अनुरोध गरेका छन्।
कांग्रेसले १५औँ महाधिवेशनको प्रचार अभियानलाई व्यवस्थित, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यले उम्मेदवार तथा प्रतिनिधिहरूलाई सोहीअनुसार गतिविधि सञ्चालन गर्न आग्रह गरेको हो।

Leave a Comment