काठमाडौं, असोज १७ — यूईएफए नेसन्स लिगअन्तर्गत समूह ‘ए’ को खेलमा बेल्जियमले टर्कीमाथि सहज ३–० गोलको जित निकालेको छ।
बेल्जियमको जितमा कप्तान केभिन डी ब्रयनाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे भने रोमेलु लुकाकुले एक गोल थपे।
खेलको १०औँ मिनेटमै डी ब्रयनाले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको बेल्जियमले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्यो।
डी ब्रयनाले खेलको ५९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० मा पुर्याए। त्यसपछि ७६औँ मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जियमले ३–० को स्पष्ट जित सुनिश्चित गर्यो।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको बेल्जियम समूह ‘ए’ को दोस्रो स्थानमा पुगेको छ। समान तीन खेलबाट ७ अंकसहित फ्रान्स शीर्ष स्थानमा छ। टर्की भने तीनै खेलमा अंक जोड्न नसकेर समूहको चौथो स्थानमा रहेको छ।

