निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न नौ सदस्यीय संसदीय समिति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, १६ असोज २०८३-निर्वाचन प्रहरीका लागि पोसाक खरिदमा उठेका प्रश्नबारे अध्ययन गर्न संघीय संसद्को सार्वजनिक लेखा समितिले नौ सदस्यीय अध्ययन समिति गठन गरेको छ।

शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।

अध्ययन समितिले दुई महिनाभित्र आफ्नो प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेस गर्नुपर्नेछ। पोसाक खरिद प्रक्रियामा अनियमितताको प्रश्न उठेपछि समितिभित्र यस विषयमा अध्ययन गर्ने कि तत्काल छानबिन अघि बढाउने भन्ने विषयमा फरक धारणा देखिएको थियो।

बैठकमा सांसद खगेन्द्र सुनारले खरिद प्रक्रियामाथि प्रश्न उठिसक्दा पनि लेखा समितिले पर्याप्त चासो नदिएको बताएका थिए। सम्बन्धित कागजात उपलब्ध गराउन माग गरिए पनि ती कागजात प्राप्त भए वा नभएकोबारे समितिका सदस्यलाई जानकारी नदिइएको भन्दै उनले असन्तुष्टि जनाएका थिए।

अर्कोतर्फ, सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमा आएका सामग्री वा सुनेका कुराका आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने बताइन्। उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षकले समितिमा राखेका धारणा तथा सम्बन्धित निकायबाट प्राप्त प्रतिवेदनसमेत अध्ययन गरेर मात्रै थप अनुसन्धान आवश्यक छ कि छैन भन्ने टुंगो लगाउनुपर्ने धारणा राखिन्।
एमाले सांसद ऐन महरले भने निर्वाचन प्रहरीको पोसाक खरिदबारे उठेका प्रश्नको तथ्यमा आधारित रूपमा निरूपण गर्न आवश्यक रहेको बताए। प्रहरी संस्थामाथि प्रश्न उठिसकेपछि विषयलाई बेवास्ता गर्दा संस्थाको विश्वसनीयता र कर्मचारीको मनोबलमा असर पर्न सक्ने उनको भनाइ थियो।

महरले तत्काल छानबिन समिति गठन गर्नुको सट्टा अध्ययन तथा अन्वेषणको जिम्मेवारी दिने समिति बनाउनुपर्ने प्रस्ताव गरेका थिए। उनले प्रारम्भिक अध्ययनपछि प्रतिवेदन मूल समितिमा पेस गर्ने र त्यसका आधारमा आवश्यक निर्णय लिनुपर्ने धारणा राखेका थिए।

सांसदहरूबीच छलफलपछि मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने सहमति जुटेको हो। समितिले खरिद प्रक्रियासँग सम्बन्धित तथ्य, कागजात तथा विभिन्न निकायबाट प्राप्त विवरणको अध्ययन गरी लेखा समितिलाई प्रतिवेदन बुझाउनेछ।

Leave a Comment