मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै दिल्लीमा आज पनि प्रदर्शन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज १७ — भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँदिल्लीमा आज पनि विरोध प्रदर्शन हुने भएको छ।

अल इन्डिया स्टुडेन्ट्स एशोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोराले शनिबार दिउँसो १ बजे जन्तर–मन्तरमा भेला भएर प्रदर्शन गर्न आह्वान गरेकी छन्। निर्वाचनसम्बन्धी विषयलाई लिएर विपक्षी दल तथा विभिन्न विद्यार्थी संगठनले विरोधलाई निरन्तरता दिने भएका हुन्।

यसैबीच, ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले पनि ज्ञानेश कुमारको राजीनामा माग गर्दै आगामी अक्टोबर १० मा दिल्लीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।

शुक्रबार पनि जन्तर–मन्तर क्षेत्रमा विपक्षी दलका नेता तथा वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरू भेला भएका थिए। तर, दिल्ली प्रहरीले मुख्य जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको थिएन।

प्रशासनले नयाँदिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गर्दै जमघट तथा प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो। प्रदर्शनमा सहभागी हुन जन्तर–मन्तर पुग्नुअघि नै प्रहरीले सयौँ व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ।

यही विषयलाई लिएर ककरोच जनता पार्टीले मुम्बईको शिवाजी पार्कमा समेत प्रदर्शन गरेको जनाएको छ।

Leave a Comment