कैलाली, असोज १६-कैलालीमा सामुदायिक वनमा च्याउ टिप्न गएका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ भने उनीसँगै रहेका दुई जना भागेर ज्यान जोगाउन सफल भएका छन्।
गौरीगंगा नगरपालिका–६, मोयास्थित भैरव महिला सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।
प्रहरीका अनुसार चौधरीसहित तीन जना बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वन क्षेत्रमा पुगेका थिए। च्याउ खोज्ने क्रममा अचानक बाघले चौधरीमाथि आक्रमण गरेको थियो।
बाघको आक्रमणमा परेका चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जनाएका छन्।
चौधरीसँगै वनमा गएका अन्य दुई जनाले भने बाघको आक्रमणबाट भागेर आफ्नो ज्यान जोगाएका प्रहरीले जनाएको छ।
घटनापछि सम्बन्धित निकायले घटनास्थलको अवस्था र बाघको गतिविधिबारे आवश्यक अनुसन्धान तथा निगरानी अघि बढाएको छ।
कैलालीमा च्याउ टिप्न गएका व्यक्तिमाथि बाघको आक्रमण, एकको मृत्यु
Leave a Comment
Leave a Comment

