सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र, एकै दिन ४९ जनामा पुष्टि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 5 मिनेट

सल्यान, असोज १६, २०८३ — सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको पाइएको छ। स्वास्थ्य निकायको पछिल्लो विवरणअनुसार जिल्लामा चालु वर्ष ४ सयभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ भने एक महिलाको मृत्यु भएको छ।
असोज १४ गतेसम्म जिल्लामा २ हजार २३३ जनाको परीक्षण गर्दा ४१३ जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो। संक्रमितमध्ये २९७ महिला र ११६ पुरुष छन्।
त्यसको भोलिपल्ट असोज १५ गते मात्रै सरकारी स्वास्थ्य संस्थामा १६९ जनाको परीक्षण गर्दा ३९ महिला र १० पुरुष गरी ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ। निजी स्वास्थ्य संस्थामा परीक्षण गराएका पाँचमध्ये तीन महिलामा समेत संक्रमण देखिएको छ।
जिल्लाका स्थानीय तहमध्ये छत्रेश्वरी गाउँपालिका संक्रमणबाट बढी प्रभावित देखिएको छ। त्यहाँ ७१ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १७ महिला र तीन पुरुष छन्। सोही गाउँपालिकामा स्क्रब टाइफसका कारण एक महिलाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
दार्मा गाउँपालिकामा ३२ जनाको परीक्षण गर्दा १३ जना र कुमाख गाउँपालिकामा ३६ जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ। बागचौर नगरपालिकामा सरकारी र निजी स्वास्थ्य संस्थाबाट गरी थप पाँच संक्रमित भेटिएका छन्।
सल्यान जिल्ला अस्पतालमा परीक्षण गराएका १९ जनामध्ये दुई जनामा संक्रमण देखिएको छ भने त्रिवेणी गाउँपालिकामा पनि एक जनामा संक्रमण पुष्टि भएको छ। कालिमाटी, कपुरकोट, बनगाड कुपिण्डे, सिद्धकुमाख र शारदा नगरपालिकामा भने असोज १५ गते नयाँ संक्रमित नभेटिएको स्वास्थ्य निकायले जनाएको छ।
महिलामा संक्रमणको दर बढी
पछिल्लो विवरणमा पुरुषको तुलनामा महिलामा संक्रमणको दर बढी देखिएको छ। असोज १५ गते मात्रै पुष्टि भएका ४९ संक्रमितमध्ये ३९ जना महिला छन्।
स्वास्थ्यकर्मीहरूले खेतबारीमा काम गर्ने, घाँस–दाउरा काट्ने तथा घरबाहिर बढी समय बिताउने व्यक्तिहरूमा संक्रमणको जोखिम बढी रहेको बताएका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काका अनुसार झाडी, घाँस तथा खेतबारीमा काम गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउन र घरवरपरका झाडी सफा राख्न सुझाव दिइएको छ।
संक्रमणको कारण पत्ता लगाउन विशेषज्ञ टोली सल्यानमा
सल्यानमा पछिल्लो समय स्क्रब टाइफसका संक्रमितको संख्या बढेपछि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को विशेषज्ञ टोली जिल्लामा पुगेको छ।
कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल र डिजिज सर्भिलेन्स एन्ड रिसर्च शाखाका प्रमुख हेमराज पाण्डेसहितको टोलीले जिल्लाका विभिन्न क्षेत्रमा संक्रमणको अवस्था, जोखिम क्षेत्र तथा रोग फैलिनुको सम्भावित कारणबारे अध्ययन गर्ने जनाइएको छ।
सल्यानमा संक्रमण उच्च देखिए पनि स्क्रब टाइफस देशका अन्य जिल्लामा पनि फैलिएको स्वास्थ्य निकायको तथ्यांकले देखाएको छ। चालु वर्ष देशभर ७४ जिल्लामा संक्रमण पुष्टि भएको छ। हालसम्म ९ हजार ९२३ जनामा संक्रमण देखिएको र सात जनाको मृत्यु भएको जनाइएको छ।
पछिल्लो एक महिनामा मात्रै देशभर २ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये लुम्बिनी प्रदेशमा ६९७ र सुदूरपश्चिम प्रदेशमा ६५१ संक्रमित भेटिएका छन्। मधेश प्रदेशमा भने संक्रमणको संख्या तुलनात्मक रूपमा कम रहेको जनाइएको छ। दाङ, सल्यान, बझाङ, स्याङ्जा, बर्दिया, पाल्पा र संखुवासभालगायत जिल्लामा संक्रमण बढी देखिएको छ।
के हो स्क्रब टाइफस?
स्क्रब टाइफस ‘रिकेटसिया सुसुगामुसी’ नामक जीवाणुबाट हुने संक्रमण हो। संक्रमित सूक्ष्म कीट अर्थात् माइटको टोकाइबाट मानिसमा यो रोग सर्छ।
खेतबारी, घाँसे मैदान, झाडी तथा वनजंगल आसपास पाइने मुसा र छुचुन्द्रोमा यस्ता जीवाणु बोक्ने माइट पाइने भएकाले त्यस्ता क्षेत्रमा काम गर्ने मानिस बढी जोखिममा रहने गर्छन्। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।
संक्रमण भएपछि ज्वरो आउने, शरीरमा रातो बिमिरा देखिने, घाँटी वरिपरिका ग्रन्थि सुन्निने, टाउको दुख्ने तथा कमजोरी महसुस हुनेजस्ता लक्षण देखिन सक्छन्। समयमै उपचार नभए संक्रमणले फोक्सो, मिर्गौला तथा मस्तिष्कजस्ता महत्वपूर्ण अंगमा असर पुर्‍याउन सक्छ।
समयमै पहिचान भएमा एन्टिबायोटिक औषधिबाट यसको उपचार सम्भव हुने स्वास्थ्यकर्मीहरू बताउँछन्। त्यसैले लगातार ज्वरो आउने वा माथिका लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।
संक्रमणबाट कसरी जोगिने?
स्क्रब टाइफसको जोखिम कम गर्न खेतबारी, झाडी वा वन क्षेत्रमा काम गर्दा शरीर पूरै ढाकिने कपडा लगाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। सम्भव भएसम्म जुत्ता प्रयोग गर्न, घरवरपरको झाडी सफा राख्न तथा खुला स्थानमा सुत्न नहुने उनीहरूको भनाइ छ।
स्क्रब टाइफसको आशंका भएमा लक्षणलाई सामान्य ठानेर घरमै बस्नुको सट्टा तत्काल स्वास्थ्य संस्थामा गई आवश्यक परीक्षण र उपचार गराउनुपर्ने स्वास्थ्य निकायले जनाएको छ।

Leave a Comment