गरिमा चौधरी हत्या प्रकरणमा बारामा आन्दोलन चर्कियो, आज पनि सडक ठप्प

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, भदौ ४ — जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा बारामा स्थानीयवासीको आन्दोलन दोस्रो दिन पनि जारी छ।

पीडित परिवार र स्थानीयले दोषीलाई कडा कारबाही तथा बालिकालाई न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गरेका छन्।
बुधबार बिहानदेखि सुरु भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका थिए। आज पनि सडकमा प्रदर्शन जारी रहँदा पथलैया–वीरगन्ज सडकखण्डमा सवारीसाधनको आवागमन प्रभावित भएको छ।
सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन्। प्रदर्शनकारीले बालिकाको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी गरिमाको सोही दिन हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिएको बताइएको छ।
बालिकाको हत्याले स्थानीयस्तरमा आक्रोश बढेपछि न्यायको माग गर्दै आन्दोलन चर्किएको हो। प्रदर्शनकारीले दोषीमाथि कडा कानुनी कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

Leave a Comment