काठमाडौँ, १८ असोज २०८३ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार तत्काल परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गर्दै सरकार ढल्ने चर्चा गर्नेहरूप्रति व्यङ्ग्य गरेका छन्।
आइतबार काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले सरकार अस्थिर हुने विषयमा भइरहेका विभिन्न टिप्पणीप्रति कटाक्ष गरेका हुन्।
उनले वर्तमान सरकार कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्न नभई देशको राजनीतिक प्रणालीमा सुधार र इतिहास बदल्ने उद्देश्यका साथ गठन भएको बताए। त्यसैले सरकार ढल्ने विषयमा भइरहेका चर्चा निराधार रहेको उनको भनाइ थियो।
लामिछानेले लोकतन्त्रको नाममा संविधान, विधि, मूल्य र राजनीतिक मान्यतालाई कमजोर बनाउने काम आफूहरूबाट नहुने स्पष्ट पारे। लोकतन्त्रमा चुनौती उत्पन्न भए त्यसको संरक्षण गर्ने जिम्मेवारी अन्ततः जनताकै भएको उनले बताए।
‘सरकार अब ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ’ भन्ने चर्चा सुनिने गरेको उल्लेख गर्दै लामिछानेले यस्ता हल्ला गर्नेहरूलाई नै व्यङ्ग्य गरे।
उनले भने, ‘सरकार ढल्दैन। सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेको देखेर ढल्न सक्छन्।’
यसअघि संसद्मा आफूले राखेको राजनीतिक धारणालाई स्मरण गर्दै लामिछानेले ठूला दलहरू कुनै स्पष्ट उद्देश्य वा राजनीतिक संकटका कारण एक ठाउँमा आउँदा त्यसले मुलुकमा थप राजनीतिक समस्या सिर्जना गर्न सक्ने दाबीसमेत गरे।
उनले आफूहरूले व्यक्तिभन्दा माथि उठेर प्रणाली र राजनीतिक संस्कार सुधारलाई प्राथमिकता दिएको बताए।
सरकार ढल्ने हल्लामै रमाउनेहरू आफैँ ढल्छन् : रवि लामिछाने
Leave a Comment
Leave a Comment

