कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, उद्घाटनमा शीर्ष नेताहरू जुट्दै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, १८ असोज २०८३-नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ।

पार्टीको नयाँ नीति तथा नेतृत्व चयनका लागि आयोजना गरिएको महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुने कांग्रेसले जनाएको छ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देशका ७७ वटै जिल्लासहित विदेशस्थित जनसम्पर्क समितिबाट आएका सात हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। कांग्रेसले यसलाई पार्टीको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको जनाएको छ।
महाधिवेशनलाई लक्षित गर्दै खुलामञ्चलाई सजाउने तथा उद्घाटन समारोहको व्यवस्थापन गर्ने काम पूरा गरिएको छ। उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहने कांग्रेसले जनाएको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुनेछन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपाने पनि उद्घाटन समारोहमा सहभागी हुने तय भएको कांग्रेसले जनाएको छ।
महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक दिशा, नीति र नेतृत्व निर्धारण गर्नेछ। सभापति पदमा गगन थापा चयन हुने सम्भावना बलियो देखिए पनि अन्य पदका लागि भने नेताहरूबीच प्रतिस्पर्धा तीव्र हुने अपेक्षा गरिएको छ।
महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्वसँगै आगामी कार्यदिशासमेत तय हुने भएकाले कांग्रेसभित्र र बाहिर यसको परिणामलाई चासोका साथ हेरिएको छ।

Leave a Comment