रियादस्थित अरामकोको तेल पूर्वाधारमा हमला गरेको हुथी विद्रोहीको दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज १-यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादमा रहेको अरामकोको तेल पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।
हुथी समूहले शनिबार गरिएको उक्त आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको जनाएको छ। साउदी अरेबियाले यमनको राजधानी साना लगायतका क्षेत्रमा गरेको सैन्य कारबाहीको जवाफस्वरूप हमला गरिएको हुथीको भनाइ छ।
बीबीसी न्युज फारसीका अनुसार हुथी पक्षले रियादस्थित तेल पूर्वाधारलाई लक्षित गरी सैन्य कारबाही गरिएको दाबी गरेको हो।
यसैबीच, घटनाका एक प्रत्यक्षदर्शीले रियादस्थित अरामकोको तेल संरचनानजिकै शनिबार बिहान धुवाँको मुस्लो र आगोको ज्वाला देखिएको बताएका छन्।
तर, हुथीको दाबीबारे साउदी अरेबियाली अधिकारीहरूले अहिलेसम्म औपचारिक पुष्टि गरेका छैनन्। तेल कम्पनी अरामकोले पनि घटनाबारे तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।
हुथी विद्रोही र साउदी अरेबियाबीच लामो समयदेखि जारी द्वन्द्वका क्रममा यमनबाट साउदी क्षेत्रतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमण हुँदै आएका छन्। पछिल्लो घटनाले क्षेत्रीय तनाव थप बढ्न सक्ने आशंका गरिएको छ।

Leave a Comment