कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुन लागेको महाधिवेशनमा यसपटक ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ।
महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन् भने निर्वाचन कार्यक्रम २१ र २२ असोजका लागि तय गरिएको छ। प्रतिनिधिहरूको दर्ता भने शुक्रबार र शनिबार नै गरिएको छ।
कांग्रेसका अनुसार यसपटकको महाधिवेशन प्रतिनिधिको संख्या पार्टीको इतिहासमै ठूलो हुने भएको छ। १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी भएका थिए। यसपटक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आउने प्रतिनिधिको संख्या बढाइएकाले प्रतिनिधिको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियामा सीमित नराखी नीति निर्माणमा समेत केन्द्रित गर्ने प्रयास हुनेछ। बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक विषयसँग सम्बन्धित प्रतिवेदन र प्रस्ताव प्रस्तुत गरिनेछ।
सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ।
विभिन्न दल र विदेशी पाहुना आमन्त्रण
उद्घाटन समारोहमा कांग्रेसले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दललाई आमन्त्रण गरेको छ।
भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट समेत पाहुना बोलाइएको कांग्रेसले जनाएको छ। तर उद्घाटन कार्यक्रमको मिति परिवर्तन भएका कारण केही विदेशी पाहुनाको सहभागिता प्रभावित हुन सक्ने बताइएको छ।
प्रतिनिधिका लागि काठमाडौंमा होटलको व्यवस्था
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि काठमाडौंका विभिन्न क्षेत्रमा होटलको व्यवस्था गरिएको छ। गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा प्रतिनिधिहरूलाई राख्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
प्रदेशअनुसार प्रतिनिधिका लागि छुट्टाछुट्टै क्षेत्रमा बसोबासको व्यवस्था गरिएको छ। तर जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने प्रतिनिधिको होटल खर्च भने सम्बन्धित प्रतिनिधिले नै बेहोर्नुपर्नेछ।
विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्ने बताइएको छ। महाधिवेशन अवधिमा प्रतिनिधिका लागि बिहान र दिउँसोको खानाको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ।
महाधिवेशनस्थलमै स्वास्थ्य सेवा
प्रतिनिधिको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खुलामञ्चमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन गरिने भएको छ। करिब ३० जना स्वास्थ्यकर्मी परिचालन हुने उक्त केन्द्रबाट सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
स्वास्थ्य केन्द्रमा रक्तचाप र मधुमेह परीक्षण, सामान्य औषधि तथा प्राथमिक उपचारको व्यवस्था गरिएको छ। आकस्मिक अवस्था आएमा प्रतिनिधिलाई अस्पताल लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने कांग्रेसले जनाएको छ।
महाधिवेशनस्थलबाट आवश्यक परे वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा बीपी स्मृति अस्पतालमा आकस्मिक उपचारका लागि समन्वय गरिएको छ। होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या भए होटलमै पुगेर सेवा दिने व्यवस्था पनि मिलाइएको कांग्रेसले जनाएको छ।
यसरी कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनसँगै आगामी कार्यदिशा र नीतिमाथि छलफल गर्ने महत्वपूर्ण राजनीतिक जमघटका रूपमा अघि बढ्ने तयारी गरिएको छ।

Leave a Comment