चितवनमा बाढीपछि १७८ शव फेला, पहिचानका लागि तस्वीर सार्वजनिक गरिँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेका १७८ वटा शव चितवन क्षेत्रमा फेला परेका छन्। नदी किनारमा भेटिएका शवलाई व्यवस्थापन गर्दै पहिचानको प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फेला परेका शवमध्ये ७४ पुरुष, ४१ महिला, ६ बालक र २ बालिका रहेका छन्। यसबाहेक ५५ जनाका शरीरका विभिन्न अंग समेत फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये २२ वटा मानव अंगलाई शव संरक्षण तथा पहिचान केन्द्रमा लगिएको छ भने अन्य अंगहरू भरतपुर अस्पतालमा सफाइ गरी सुरक्षित राखिएको छ।
शवको तस्वीरसहित पहिचान प्रक्रिया
प्रहरीले नदीबाट निकालिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्वीर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राख्दै आएको छ। त्यसपछि शवलाई संरक्षण तथा पहिचान केन्द्रमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार तस्वीर खिचिएका शवको पहिचान गर्न ‘डिस्प्ले’ सुरु गरिएको छ। बेपत्ता व्यक्तिका आफन्तले उक्त डिस्प्लेमा तस्वीर हेरेर आफ्ना परिवारका सदस्य पहिचान गर्न सक्नेछन्।
प्रहरीले पहिचान सहज बनाउन शवका तस्वीर नेपाल प्रहरीको पोर्टलमा समेत राख्ने तयारी गरेको जनाएको छ।
पुरानो भवनलाई शव संरक्षण केन्द्र बनाइयो
भरतपुर महानगरपालिका–१० मा रहेको भरतपुर अस्पताल नजिकै चितवन उद्योग संघको आडमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई अस्थायी रूपमा शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ।
भरतपुर अस्पतालमा ठूलो संख्यामा शव राख्न पर्याप्त ठाउँ नभएपछि उक्त भवनलाई शव संरक्षण तथा पहिचानका लागि प्रयोग गरिएको हो।
शव लिन आउने आफन्तको आधिकारिकता परिचयपत्र तथा अन्य आवश्यक कागजातका आधारमा पुष्टि गरिने प्रहरीले जनाएको छ। पहिचान पुष्टि भएपछि शवलाई पुनः भरतपुर अस्पताल ल्याएर पोस्टमार्टम गरिनेछ।
नदी किनारमा खोजी जारी
त्रिशूली र नारायणी नदीको चितवनतर्फका किनारमा शुक्रबार पनि बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव खोजी गरिरहेको छ।
नदी किनारमा शव देखेपछि स्थानीय बासिन्दा तथा बेपत्ता व्यक्तिका परिवारले सुरक्षा निकायलाई खबर गर्ने क्रमसमेत जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Comment