चितवन । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारजन अस्पतालदेखि शवगृहसम्म भौँतारिन थालेका छन्। कतिपय परिवार जीवितै भेटिने आशामा छन् भने कतिपय शव फेला परे पनि पहिचान गर्न नसक्दा थप पीडामा छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ का घनश्याम बस्नेत (मिलन) गत बुधबार रसुवामा आएको बाढीपछि सम्पर्कविहीन छन्। डिब्बा गाडी लोड गर्न रसुवा नाका पुगेका घनश्यामले मंगलबार राति श्रीमती कञ्चन पाठकसँग कुराकानी गरेका थिए।
बाढी आएको खबर पाएपछि श्रीमान्सँग सम्पर्क हुन नसकेकी कञ्चन शनिबार हेटौँडाबाट चितवनको मध्यविन्दु प्रादेशिक अस्पताल, कावासोतीसम्म पुगिन्। भरतपुर, गैँडाकोट हुँदै विभिन्न अस्पतालमा राखिएका शव हेर्दा पनि श्रीमान्को अवस्थाबारे कुनै जानकारी पाउन नसकेपछि उनी निराश भएर घर फर्किइन्।
यस्तै, मकवानपुरकै थाहा नगरपालिकाका नवराज लामा पनि भाइ रामेश्वर रानाको खोजीमा नुवाकोट, काठमाडौं र चितवनसम्म पुगिरहेका छन्। बाढी आएपछि सम्पर्कविहीन भएका भाइको अवस्था पत्ता लगाउन उनी शवगृहसम्म धाइरहेका छन्।
वीरगञ्जका रिसाद हुसेनको परिवार पनि भान्जा समिम मियाँको खोजीमा दुई दिनदेखि चितवनमा छ। रसुवाको स्याफ्रुबेसीमा टायर पसलमा काम गर्ने समिम बाढीपछि सम्पर्कविहीन भएका हुन्। समिमसँगै उनका चार जना साथी पनि हराइरहेको परिवारको भनाइ छ।
यी परिवार मात्र होइनन्, बाढीपछि आफन्त बेपत्ता भएका सयौँ परिवार अहिले आफ्ना मान्छेको खोजीमा अस्पताल र शवगृह धाइरहेका छन्। जीवितै भेटिने आशा र शव फेला पर्ने त्रासबीच उनीहरू दिनहुँ खोजीमा निस्कन बाध्य छन्।
शव पहिचान गर्न झन् कठिन
बाढीको भेलमा परेर क्षतविक्षत भएका शव पहिचान गर्न आफन्तलाई निकै कठिन भइरहेको छ। शवको तस्बिर देखाएर पहिचान गराउने प्रयास भए पनि धेरै शवको अवस्था अत्यन्तै दर्दनाक भएकाले तस्बिरबाट समेत छुट्याउन समस्या भइरहेको छ।
चितवनमा हालसम्म २३३ वटा शव फेला परेको जनाइएको छ। तीमध्ये ६ जनाको मात्रै सनाखत भएको छ। पहिचान हुन नसकेका शव भरतपुर अस्पताल तथा अस्थायी शवगृहमा राखिएका छन्।
शव लामो समय राख्दा कुहिन थालेपछि पहिचान हुन नसकेका शवलाई खाल्डो खनेर व्यवस्थापन गर्न थालिएको छ। यसले बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई आफ्ना प्रियजन जीवितै भेटिने आशा र शव पहिचान गर्न नसक्ने पीडाबीच झन् ठूलो मानसिक दबाबमा पारेको छ।
बाढीले भौतिक संरचनासँगै सयौँ परिवारलाई आफन्तविहीन बनाएको छ। बेपत्ता व्यक्तिको अवस्था अझै यकिन हुन नसक्दा धेरै परिवारका लागि हरेक दिन आशा र निराशाबीच बितिरहेको छ।

