प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट, एक जना पक्राउ

पढ्न लाग्ने समय : 1 मिनेट
फाइल तस्बिर

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखिने गरी कार्कीले नक्कली बैंक स्टेटमेन्ट तयार गरेका थिए।

प्रहरीका अनुसार उक्त स्टेटमेन्ट ChatGPT को प्रयोग गरी तयार पारिएको थियो। उनले नक्कली स्टेटमेन्टमा आफ्नै क्यूआर कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएको छ।
सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउँदै सर्वसाधारणलाई भ्रममा पार्ने तथा ठगीको प्रयास गरेको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कार्कीमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

Leave a Comment