बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी सहयोग

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ १५ — बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढीपीडितको सहयोगका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ। प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ समेत सञ्चालनमा ल्याएको छ।

सोमबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामार्फत कोषमा उक्त रकम संकलन भएको कार्यालयले जनाएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको जानकारी दिइएको छ।

विपद्को समयमा संकलित रकमको पारदर्शी र उचित उपयोग सुनिश्चित गर्न सरकारले सहयोगकर्तालाई आधिकारिक माध्यमबाट मात्र रकम जम्मा गर्न आग्रह गरेको छ।

सरकारले सम्भावित वित्तीय ठगीबाट जोगिन आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’का आधिकारिक बैंक खातामा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ।
कोषमा रकम जम्मा गर्ने बैंक खाता तथा सहयोगसम्बन्धी अन्य आवश्यक विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

Leave a Comment