बहराइनविरुद्ध नेपालले रोज्यो बलिङ, जितसँगै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्य

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ १५ — मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपमा नेपालले बहराइनविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

नेपालका लागि यो प्रतियोगिताको पहिलो खेल हो। टस जितेपछि नेपाली टोलीले बहराइनलाई ब्याटिङका लागि आमन्त्रण गरेको हो। खेलमा बहराइनले ब्याटिङ सुरु गरिसकेको छ भने एक विकेट गुमाइसकेको छ।

नेपाल यसपटक प्रिमियर कपको उपाधि जित्दै दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्यसहित मैदानमा उत्रिएको छ। सन् २०२३ मा नेपालमै आयोजित प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो। त्यससँगै नेपाल पहिलोपटक एसिया कपमा पुगेको थियो।

यसपटक नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। यसअघि एकदिवसीय टोलीको नेतृत्व रोहित पौडेलले गर्दै आएका थिए।
प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले मलेसिया पुग्नुअघि करिब डेढ साता भारतमा अभ्यास गरेको थियो।
नेपाल समूह ‘ए’ मा रहेको छ। समूह चरणमा नेपालले बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालको मुख्य लक्ष्य समूह चरण पार गर्दै उपाधि जित्नु र त्यसैमार्फत एसिया कपमा पुनः स्थान बनाउनु रहेको छ।

Leave a Comment