भोटेकोशी बाढी : मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै बेपत्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा गरी बुधबार बिहान ५ बजेसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ वटा छन्।
जिल्लागत विवरणअनुसार रसुवामा ४५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३८ र भारतमा ९ वटा शव फेला परेका छन्।
फेला परेका शवमध्ये १ हजार ११३ वटा शवको लाशजाँच मुचुल्का सम्पन्न भइसकेको प्रहरीले जनाएको छ। त्यस्तै, ९५ वटा शव आफन्तलाई बुझाइएको छ।
पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।

आफन्त तथा परिवारजनले ती विवरणका आधारमा शव पहिचान गर्न सक्ने प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत वितरण र शव व्यवस्थापनका लागि प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी विभिन्न कार्यमा खटिएका छन्।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ६ हजार ५४१ जनाको उद्धार गरिएको छ। यद्यपि, ४ हजार ८५८ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको छ।

बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीयवासी तथा विभिन्न निकायसँग समन्वय गरी उद्धार तथा खोजी अभियान सञ्चालन गर्ने र बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ।
बाढीपछि प्रभावित जिल्लामा खोज तथा उद्धारसँगै शव पहिचान, व्यवस्थापन र परिवारलाई हस्तान्तरण गर्ने कार्यलाई पनि तीव्रता दिइएको छ।

Leave a Comment