मिनियापोलिस । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा रहेको एक अपार्टमेन्ट भवनमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोली चलाएको आशंका गरिएका व्यक्ति पनि छन्।
बुधबार अपराह्न ४ः३० बजेपछि अपार्टमेन्टमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार माथिल्लो तलाबाट समेत गोली चलेपछि उद्धार तथा कारबाहीमा कठिनाइ भएको थियो। घटनास्थलमा बाक्लो धुवाँ रहेकाले प्रहरीलाई थप चुनौती भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताएका छन्।
घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन प्रहरी अधिकारीको अवस्था स्थिर रहेको बताइएको छ।
प्रहरीका अनुसार गोलीबारीमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का व्यक्तिको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। गोली चलाएको भनिएका संदिग्धको पनि मृत्यु भएको छ। उनको पहिचान र मृत्युको कारण भने तत्काल सार्वजनिक गरिएको छैन।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार गोली चलाउने व्यक्ति सोही अपार्टमेन्टका बासिन्दा हुन सक्ने अनुमान गरिएको छ। उनी यसअघि पनि हतियार प्रदर्शन गर्ने गरेको उनीहरूले बताएका छन्।
घटनापछि प्रहरीले लोरिङ पार्क आसपासका बासिन्दालाई सावधानी अपनाउँदै घटनास्थलबाट टाढा रहन आग्रह गरेको थियो।
मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाको अनुसन्धान तथा सुरक्षाका लागि स्थानीय प्रहरीलाई राज्यस्तरबाट आवश्यक सहयोग भइरहेको बताएका छन्। घटनाबारे संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले समेत अनुसन्धान थालेको छ।

